तनहुँ– १ मा गोविन्द भट्टराईलाई कांग्रेसले उम्मेदवार बनाउने
काठमाडौं । आगामी बैशाख १० गते हुने तनहुँ क्षेत्र– १ उपनिर्वाचनका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई यसअघि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका थिए । रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि उक्त पद खाली छ । रामचन्द्र पौडेलले गत चुनावअघि आफू राष्ट्रपति भएमा भट्टराईलाई उम्मेदवार बनाउने आश्वासन दिएका थिए ।
स्रोतका अनुसार भट्टराई तनहुँ–१ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ । आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा बैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । आयोगले तनहुँसँगै चितवन–२ र बारा–२ मा उपनिर्वाचन गर्न मिति तोकेको हो ।
