नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज हुँदै

तु खबर संवाददाता
२०७९ फाल्गुन २९, सोमबार ०७:५६
file-photo

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुरुप नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने भएका हुन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् ।

मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ । उनी पनि सोमबार शीतल निवासबाट आफ्नो निवासमा सर्नेछिन् ।