उपराष्ट्रपति निर्वाचन : चारै जनाको उम्मेदवारी कायमै

तु खबर संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १७:१५
file-photo

काठमाडौं । उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गराएका चारै जनाको उम्मेदवारी कायमै रहेको छ । आइतबार अपरान्ह राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौड्यालले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी सो बारे जानकारी गराएका हुन् ।

जसमा शनिबार उम्मेदवारी दिएका चारै जनाको नाम समावेश भएको छ । उपराष्ट्रपति पदका लागि अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव, प्रमिला कुमारी र ममता झाले उम्मेदवारी दर्ता गराएका थिए ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार कायम हुन नसक्ने भन्दै यादवको उम्मेदवारीविरुद्ध शनिबार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उजुरी दिएका थिए । तर, आयोगले आइतबार विहानै यादवको उम्मेदवारी पनि कायम रहने निर्णय गरेको हो ।

जसपाले फागुन २५ मा रामसहाय उपराष्ट्रपतिको उम्मेदवार तोकेको थियो । तर, राष्ट्रपति र उपराष्ट्रपति दुबै पुरुष हुन नहुने प्रश्न उठेपछि जसपाले प्रमिला कुमारीलाई पनि उम्मेदवार बनाएको थियो ।

निर्वाचन आयोगले रामसहायको उम्मेदवारी सदर गरे पनि अदालतमा मुद्दा पर्न सक्ने आशंकाले अन्तिमसम्म दुबै उम्मेदवार कायम राख्ने जसपाले जनाएको छ ।