प्रतिनिधि सभाका यी सांसदले बुझाएनन् सम्पत्ति विवरण

तु खबर संवाददाता
२०७९ फाल्गुन १६, मंगलवार १६:२१
file-photo

काठमाडौं । निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको ११ सांसदले उल्लङ्घन गरेका छन् । संघीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।

सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा ठुलो दल कांग्रेसका सांसदहरू उदय शमशेर जबरा, अजयकुमार चौरसिया, मोहन बस्नेत, मनोरमा शेरचन र निलम्बित सांसद टेकबहादुर गुरुङ छन् ।

यस्तै, एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी, राजकुमार गुप्ता, माओवादी केन्द्रका वर्षमान पुन, नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरी, नेपाल समाजवादी पार्टीका सांसद महीन्द्र राय यादव रहेका छन् ।

यस्तै, यसअघि ज्येष्ठ सदस्यको रूपमा अध्यक्ष भएर सांसदहरूलाई शपथ खुवाएका राप्रपाका सांसद पशुपति शमशेर जबराले पनि सम्पत्ति विवरण नबुझाएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सम्पत्ति विवरण नबुझाएका सांसदहरूले अब ५ हजार जरिवाना बुझाएर अझै १ महिनासम्म सम्पत्ति विवरण बुझाउनसक्ने व्यवस्था रहेको छ ।