राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले शनिबार बिहान साढे ८ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबार विज्ञप्ति जारी गर्दै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई आमन्त्रण गरेका छन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रपतिको उमेदवार चयन गर्नेबारे निर्णय हुनेछ ।
राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा दलहरू भने सहमति जुटाउने अन्तिम कसरतमा जुटेका छन् ।
