राष्ट्रपति चुनाव : मतदाता नामावलीमा सांसद चौधरीको नाम राख्न निवेदन

तु खबर संवाददाता
२०७९ फाल्गुन ११, बिहीबार १५:३०

काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीमा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम राख्न निवेदन परेको छ ।

निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको थियो । जसमा कैलाली–२ बाट निर्वाचित चौधरीको नाम समावेश छैन । मतदाता नामावलीमाथि दाबी विरोधको समय बिहीबार मध्यान्ह १२ बजेसम्म तोकिएको थियो ।

सांसद चौधरी ट्रकमा आगजनी गरेको घटनामा दोषी ठहर भर्इ जेल चलान भएका थिए । तर, प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि चौधरी रिहा भइसकेका छन् ।

उनी रिहा भइसकेको भन्दै नामावलीमा नाम समावेश गर्न माग गर्दै निवेदन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मध्यान्ह १२ बजे राष्ट्रपतिको अन्तिम नामावली प्रकाशन गर्नेछ ।