बागमती प्रदेशसभा : सभामुख र उपसभामुखले के–के पाउँछन् सेवा सुविधा ?

तु खबर संवाददाता
२०७९ पुष २१, बिहीबार १०:२८

मकवानपुर । बागमती प्रदेशसभामा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट ११० जना प्रदेशसभा सदस्यहरु निर्वाचित भएका छन् । प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीबाट प्रतिनिधित्व गरी ११० जना सदस्यहरु निर्वाचित भएका हुन् ।

उनीहरुले गत पुस १४ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरिरहेका छन् । उनीहरुलाई प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराएका थिए । ज्येष्ठ सदस्य ढुंगानालाई भने प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस १३ गते शपथ ग्रहण गराएका थिए ।

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक पनि बसिसकेको छ । बैठक पुस १८ गते बसेको हो । सो बैठकले प्रदेशसभाको सभामुख र उपसभामुख निर्वाचनको मिति घोषणा गरेको थियो । बैठकले यही पुस २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने घोषणा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार, सभामुख र उपसभामुखको निर्वाचनको मिति तोकिएको हो ।

सभामुख र उपसभामुख निर्वाचनको लागि पुस २८ गते उम्मेदवारी दर्ता गर्ने, उम्मेदवारीउपर उजुरी दर्ता गर्ने, उम्मेदवारीको उम्मेदवारी सार्वजनिक गर्नको लागि समय तोकेको छ भने मतदानको लागि पुस २९ गते ११ बजेको समय तोकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव खड्काले जानकारी दिए ।

सभामुख र उपसभामुख निर्वाचनको लागि दलका नेताहरु दौडधुप गरिरहेको अवस्थामा उनीहरुले प्रदेश सरकारबाट कति सेवा पाउँछन् भन्ने जिज्ञासा सबैमा उब्जिएको छ । सभामुख र उपभामुखले प्रदेशसभाका अन्य सदस्यहरुभन्दा धेरै खालको सेवासुविधा पाउनेछन् । प्रदेशसभाका सभामुख र उपसभामुख जुन दलका भएपनि उनीहरुले गत पुस १४ गतेदेखि नै तलब र भत्ताहरु पाउनेछन् ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव खड्काका अनुसार, सभामुखले रु ६१ हजार ४८० रुपैयाँ र उपसभामुले रु ५८ हजार रुपैयाँ प्रति महिना मासिक पारिश्रमिक पाउने, प्रदेशसभा बैठक वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएबापत प्रति दिन रु १ हजार पाउने व्यवस्था रहेको छ ।

यसैगरी, निजी सचिवालय कर्मचारी सुविधामा सभामुखले उपसचिव १ जना, शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी १ जना र हलुका सवारी चालक २ जना, उपसभामुखले शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी २ जना र हलुका सवारी चालक १ जना पाउने व्यवस्था रहेको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

त्यस्तै, अतिथी सत्कारमा सभामुखले रु १० हजार रुपैयाँ, उपसभामुखले रु ५ हजार रुपैयाँ, निजि सचिवालय बन्दोबस्त सुविधामा सभामुखले २ हजार रुपैयाँ, उपसभामुखले १ हजार ७५० रुपैयाँ, आवास सुविधामा सभामुख र उपसभामुख दुबै जनाले सरकारी आवास पाउने, सवारी साधन र इन्धनमा  सभामुखले सवारी साधन १ वटासहित सवारी इन्धन प्रति महिना १५० लिटर र त्रैमासिक मोविल १० लिटर पाउने, उपसभामुखले सवारी साधन १ वटासहित सवारी इन्धन प्रति महिना १२५ लिटर र त्रैमासिक मोविल ५ लिटर पाउने व्यवस्था रहेको छ ।

यसैगरी, सञ्चार (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका) सुविधामा सभामुखले ५ हजार, उपसभामुखले ३ हजार, धारा, बिजुली सुविधानमा सभामुखले र उपसभामुखले विल अनुसार, दैनिक तथा भ्रमण खर्च सुविधानमा प्रदेश सभाको काममा नेपाल भित्र भ्रमण गर्दा सभामुखले २ हजार ५०० रुपैयाँ र उपसभामुखले २ हजार तथा विदेश भ्रमण गर्दा सभामुखले २०० र उपसभामुखे १७५ अमेरिकन डलर दैनिक भ्रमण भत्ता तथा १० लाख रुपैयाँ बराबर यात्रा बीमा प्रिमियम पाउने व्यवस्था छ ।

यस्तै, चाडपर्व खर्चमा धर्म संस्कृति अनुसार मनाइने चाडपर्व मनाउनको लागि वर्षको एक पटक एक महिनाको पारिश्रमिक बराबरको रकम पाउने व्यवस्था रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।