सुदूरपश्चिम प्रदेशसभाका सदस्यले लिए पद तथा गोपनीताको शपथ
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सदस्यले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेशसभा भवनमा आयोजित एक समारोहबीच अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले उनीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथ ग्रहण गरेका थिए भने अन्य प्रदेशसभा सदस्यले नेपाली भाषामै शपथ ग्रहण गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि शुक्रबार दिँउसो ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा रावलले शपथ ग्रहण गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपा १ र स्वतन्त्र १ जना गरी ५३ सदस्य रहेका छन् ।
