आईतबार देशभरका ११ जिल्लामा गोली चल्यो
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचन गराउने क्रममा देशभरका ११ जिल्लामा गोली चलेको प्रहरी प्रवक्ता (डीआइजी) टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार, ११ वटा जिल्लाको २४ स्थानमा सुरक्षाका लागि गोली चलाउनुपरेको हो ।
यस्तै, ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको छ ।
यस्तै, चितवनको राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको थियो ।
यसैगरी, दोलखाका ७ ठाउँमा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन २६ राउण्ड गोली चलाउनुपरेको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जिल्लाको गौरीशंकर गाउँपालिका–२, जिरी नगरपालिका–९ मा बैतेश्वर गाउँपालिकाको वडा नम्वर–१ र २ नम्वर वडा, कालिञ्चोक गाउँपालिका वडा नम्वर –७ र १ मा प्रहरीले गोली चलाएको थियो ।
यसैगरी, तामाकोशी गाउँपालिका–३ स्थित कालापानी माावि मतदान केन्द्रमा झडप हुँदा १५ राउण्ड गोली चलाउनु परेको बागमती प्रदेशकी डीआईजी किरण बज्राचार्यले जानकारी दिइन् । कालापनीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताको बीचमा झडप भएको थियो । झडपमा परेर सुरक्षाकर्मी पनि घाइते भएका छन् ।
यसैगरी, स्याङ्जाको गल्याङ नगरपालिकास्थित आदर्श मावि मतदान केन्द्रमा गोली चलेको छ । हुम्लाको देवकोटा आवासीय विद्यालय कुनापानीमा प्रहरीले १७ राउण्ड गोली चलाएको छ । त्यस्तै, मान्धारा मावि भकुण्डामा पनि गोली चलेको छ ।
त्यस्तै, बाजुराको स्वामीकार्तिक, छेडेदह, कैलाशेबरी आवासीय विद्यालय मना, सत्य माबि पाण्डुसैन र धुरालसेन मावि डुगरी मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ ।
डोटीको राधाकृष्ण मावि गोपाघाटमा ४ राउन्ड फायर गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दार्चुलाका मालिकार्जुन मावि मतदान केन्द्र र बझाङको मष्टा आधार आवासीय विद्यालय बुरेलथुम प्रहरीले गोली चलाएको छ ।
