बकैयामा प्रज्ञा प्रतिष्ठानको संयोजकमा गौतम, सदस्य सचिवमा उपासक
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा दीपक गौतमको संयोजकत्वमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ । सोमबार बकैयाको महेन्द्र माविमा भएको झरना साहित्यिक परिवारको चौथो अधिवेशनमा गौतमको संयोजकत्वमा ९ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन भएको हो ।
मकवानपुरका १० वटा पालिकामध्ये स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने बकैया पहिलो पालिका बनेको छ । बकैया गाउँपालिकाको २०७८ चैत्र १० गते बसेको कार्यपालिका बैठकबाट स्वीकृत कार्यविधिअनुसार समिति गठन गरेको छ ।
जसका सदस्यहरुमा विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, कृष्ण घतानी, सन्तराम राई, कुमार स्याङ्वो, शुभलक्ष्मि प्रभा चयन भएका छन् । प्रतिष्ठानको सदस्य सचिवमा मसान उपासकलाई चयन गरेको छ ।
तदर्थ समितिका संयोजक गौतमले कानुनी प्रक्रिया पूरा गरी प्रतिष्ठानलाई ६ महिनाभित्र पूर्णता दिइने प्रतिबद्धता जनाए । पालिकामा साहित्यिक क्रियाकलापको नेतृत्व झरना साहित्यिक परिवारले नै गरेकोले आगामी दिनमा पनि झरनासँगै सहकार्य गरेर पालिकाले प्रतिष्ठान गठन गरेको गौतमले बताए ।
यता बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाले कला, भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा सक्दो सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा निमेष निखिल, आरसी रिजाल, राजकुमार लामिछाने, श्रीराम अधिकारी, सम्प्रस पौडेल, कुवेर पराजुली, बकैया गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
