ज्यान जोखिममा राखेर विद्यालय जान्छन् बकैयाका विद्यार्थी

तु खबर संवाददाता
२०७९ आश्विन २, आईतवार ०८:५२

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ सिमात खोलामा पुल नहुँदा ज्यान जोखिममा राखेर बिद्यार्थीहरु परीक्षा दिन जाने गरेका छन् । बकैयास्थित कालाभैरव प्राथमिक विद्यालय धेत्रेदमारमा अध्ययनरत विद्यार्थीहरु बर्खा तथा हिउँदमा ज्यान जोखिममा राखेर सिमात खोला तरेर विद्यालयमा अध्ययन गर्न जाने गरेका हुन् ।

सिमात खोला तर्न बर्खामा विद्यार्थीहरुले समस्या भोग्नु परेको छ । तामाङ समुदायको बाहुल्यता रहेको यस विद्यालयमा हाल २७ जना विद्यार्थीहरु अध्ययनरत छन । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेका छन् ।

यहाँ बालकक्षा देखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ । बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाडा, अंजिगरे लगायतका स्थानबाट विद्यार्थीहरु करिब ४५ मिनेट पैदल हिडेर विद्यालय पुग्ने गरेका छन् । धेत्रे र चुवार पाखाका बालबालिकाहरु बकैयाको सिमात खोला तरेर विद्यालयमा अध्ययन गर्न तथा परीक्षा दिन जाने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिए ।

भदौ ३० गतेदेखि सुरु भएको त्रैमासिक परीक्षा असोज ५ गतेसम्म संचालन हुनेछ । भदौ ३१ गते ठूलो पानी परेका कारण विद्यार्थीहरुले खोला तर्न नसक्दा परीक्षा स्थगित गर्नुपरेको प्रध्यानाध्यापक चेतबहादुर घलेले बताए । विद्यालयले हाल लिइरहेको त्रैमासिक परीक्षामा सहभागि हुन विद्यार्थीहरु आउन नसकेपछि विद्यालय व्यवस्था समितिका अध्यक्ष बिजय सिं घिसिङ, प्रध्यानाध्यापक चेतबहादुर घले र कार्यालय सहयोगी लगायत मिलेर विद्यार्थीलाई खोला तारेर विद्यालय ल्याएका थिए ।

यहाँका स्थानीय, अभिभावक तथा विद्यालयका प्रअले पनि झोलुङ्गे पुल नहुँदा विद्यार्थी विद्यालय आउन परेको समस्या बारे पालिका तथा वडालाई जानकारी गराएपनि यस स्थानमा झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरुको गुनासो छ । विद्यार्थीलाई दैनिक विद्यालय जान र फर्किने क्रममा सिमात खोला तर्न समस्या हुने गरेको छ । खोला तर्दा कापी, किताब तथा कहिलेकाही ड्रेस नै भिज्ने गरेको बिद्यार्थीको भनाइ छ ।

२०५३ सालमा स्थापना भएको यस विद्यालयमा राहत दरबन्दी १ जना प्रध्यानाध्यापक र १ जना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको विद्यालयले जनाएको छ । विद्यालय भवन समेत जीर्ण अवस्थामा रहेको विद्यालयका प्रअले जानकारी दिए ।