कैलाशमा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन
मकवानपुर । कैलाश गाउँपालिका वडा नम्वर १० भाल्टारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले भवनको उद्घाटन गरेका हुन् ।
संघीय सरकारको ससर्त अनुदानबाट गाउँपालिकाले ३० लाख रुपैयाँमा ३ कोठे भवनको निर्माण गरेको हो । कार्यालयमा ड्रेसिङ कक्ष, ओपिडी, आकस्मिक सेवा, गर्भवती जाँच सेवा, खोप कार्यक्रम, पोषण सेवा र परिवार नियोजन सेवा प्रदान गरिने स्वास्थ्य सेवा केन्द्र प्रमुख रुबि कुमारी साहले जानकारी दिइन् । स्वास्थ्य केन्द्रमा एक अनमी र एक कार्यालय सहयोगी गरी ३ जना कर्मचारी रहेको उनले बताइन् ।
भवन निर्माण कार्य २०७८ माघ १५ गते नै सम्पन्न भएकोमा यस वर्ष भदौ ८ गते उद्घाटन गरिएको हो । पूर्व गाविस अध्यक्ष खड्ग लामाले उपलब्ध गराएको १४ धुर जग्गामा सो भवन निर्माण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व वडा अध्यक्ष मनिकलाल मोक्तानले आफ्नै कार्यकालमा भवन निर्माण कार्य सम्पन्न भएको बताउँदै सो कार्यको लागि सहयोग पुर्याउने सबैप्रति धन्यवाद दिए ।
दूर दराजका जनताको स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्न चालु आर्थिक वर्षमा मात्रै गाउँपालिकाका विभिन्न वडामा ५ वटा आधारभूत स्वास्थ्य चौकि स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिए । उनले पालिकामा पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानी, शिक्षा स्वास्थ्य रोजगार, कृषि क्षेत्रलगायतमा प्राथमिकताका साथ गाउँपालिकाले काम गरिरहेको बताए । उनले गाउँपालिकालाई स्थानीय बालमैत्री शासनयुक्त गाउँपालिका मंसिरभित्र घोषणा गर्ने गरी तयारी भइरहेको समेत बताए ।
