कैलाशमा ग्रामिण आँखा केन्द्र स्थापना

तु खबर संवाददाता
२०७९ चैत्र २९,बुधबार १८:२९

मकवानपुर । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर–३ कालिकाटारमा स्थापना गरिएको ग्रामिण आँखा केन्द्रको आज एक समारोहका बीच उद्घाटन गरिएको छ ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले केन्द्रको उद्घाटन गरेका हुन् । उनले आँखा उपचार केन्द्रको स्थापनाले कैलाशका आँखाका विरामी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

मुक्तानले सो केन्द्रलाई नमूना केन्द्र बनाउन र सकेसम्म धेरै जनताको पहुँच विस्तार गर्न गाउँपालिकाले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

हेटौंडा सामुदायिक आँखा अस्पताल र कोरियन संस्था अनड्रिम ब्लाइन्डनेश प्रिभेन्सन प्रोजक्टको व्यवस्थापन तथा कैलाश गाउँपालिकाको सहयोगमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो ।

केन्द्रमा विरामीको आँखा परीक्षणका लागि गाउँपालिकाले नेत्र सहायक र सहयोगी गरी दुई जना नियुक्त गरेको छ । केन्द्रले आजैबाट आँखा जाँच तथा चस्मा जाँच सुरु गरेको हो ।

स्थापनाको अवसरमा एकदिने निःशुल्क आँखा शिविरसमेत सम्पन्न भएको छ । शिविरमा वरिष्ठ डा. मोहन कृष्ण श्रेष्ठ, अप्थाल्मिक अफिसर शुसिल सिंहलगायतको टोलीले विरामीको आँखा परीक्षण गरेका थिए ।

शिविरमा १८६ जना आँखाका विरामीको परीक्षण गरिएकोमा २१ जनामा मोतिविन्दु देखिएको र आउँदो वैशाख ४ गते गाउँपालिकासँगको समन्वयमा उहाँहरुको आँखाको शल्यक्रिया गरिने सामुदायिक आँखा अस्पताल हेटौंडाका प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।

उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा अध्यक्ष देवलाल बललगायत पालिकाका विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।