कैलाशमा निर्देशिका स्वीकृत गरी आजबाट बजार अनुगमन सुरु

तु खबर संवाददाता
२०८० आश्विन २२,सोमबार १९:२६

मकवानपुर । कैलाश गाउँपालिकाले बजार अनुगमन निर्देशिका २०८० स्वीकृत गरी प्रभावकारी रुपमा कार्यान्वयन सुरु गरेको छ ।गाउँपालिकाले स्वच्छ र प्रतिस्पर्धात्मक बजार कायम गरी उपभोक्ताको हित संरक्षणका लागि बस्तु तथा सेवाको आपूर्ति मूल्य, गुणस्तर शुद्धता र परिणामलगायत विषयमा अनुगमन तथा निरीक्षण कार्यलाई व्यवस्थित गर्न निर्देशिका बनाई स्वीकृत गरेको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।

गाउँपालिकाले सोही निर्देशिका बमोजिम सोमबार पालिकाभित्रको बजार क्षेत्रको अनुगमन गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, योजना प्रमुख सुरेस न्यौपानेसहित स्थानीय प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीसमेतको टोलीले आज बजार क्षेत्रको अनुगमन गरेको हो ।

सो क्रममा साना तथा ठूला खाद्यान्न पसल, होटल, मेडिकल र अन्य पसलहरु दर्ता तथा नविकरण भए नभएको, मूल्यसूचि तथा साइनबोड टाँस भएनभएको, म्याद गुज्रेका खाद्यान्न तथा उपभोग्य सामग्री बिक्रि भएनभएको विषयमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत रोकाले जानकारी दिए ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न बरामद गरी नष्ट गरिएको, दर्ता नविकरण नभएका पसल व्यवसायलाई दर्ता नविकरण प्रक्रिया अघि बढाउन सुझाव दिइएको रोकाले बताए । उनले आजको अनुगमन चाडपर्व लक्षित भएता पनि आगामी दिनमा निर्देशिका बमोजिम नै अनुगमन कार्यलाई निरन्तरता दिइने बताए ।