बकैयामा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रर्वद्धन विषयक अन्तरक्रिया कार्यक्रम
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बकैयाँ गाउँपालिकामा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रर्वद्धन विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यालयले आइतबार बकैयाँ गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकास्थित माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु, बकैया गाउँपालिकामा अवस्थित संघीय प्रादेशिक तथा स्थानीय तहका कार्यालका प्रमुखहरु, गाउँपालिकाका प्रमुख स्तरका कर्मचारी, स्थानीय गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरुको सहभागितामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख नरहरि घिमिरेको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय, हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनिकरण एवम् सुशासन प्रवर्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे जानकारी गराएका थिए ।
भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी गराउँदै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उल्लेख गरे ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु प्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्दै स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
