परिवार दलले जनहितको पक्षमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने
मकवानपुर । नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा साउन २२ र २३ गते भौतिक उपस्थिति तथा अनलाइनमार्फत् बैठक सम्पन्न भएको हो ।
बैठकले वर्षाका कारण बाढी पहिरोबाट पीडित नागरिकहरुलाई तुरुन्त राहत सामग्री उपलब्ध गराउन र बढ्दो महंगी नियन्त्रण गरी आम नागरिकको पक्षमा काम गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
त्यस्तै आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने गरी सरकारले गरेको निर्णयको दलले स्वागत गरेको छ । लोकतन्त्रकोे स्वस्थता र सवलता एवम् शासनको वैधताका लागि आवधिक निर्वाचन अपरिहार्य भएको भन्दै आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएको र घोषित निर्वाचन निस्पक्ष, स्वतन्त्र, मितव्ययी र धाँधलीरहित तवरबाट सम्पन्न गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
दलले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सहभागिताको लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न वरिष्ठ उपाध्यक्ष विनोद डाँगीलाई अख्तियारी प्रदान गरेको छ । चुनावका लागि आ–आफ्नो क्षेत्रबाट लागि पर्न दलका नेता तथा कार्यकर्तालाई आह्वान समेत गरेको छ
दलले आगामी निर्वाचनमा एजेन्डा मिल्ने पार्टीसंग राष्ट्र र जनताको हितको पक्षमा आवश्यकता अनुसार सहकार्य गर्ने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय कार्य सम्पादन समिति वा केन्द्रीय अध्यक्षले आवश्यकता अनुसार परामर्श गरी उपयुक्त निर्णय लिनसक्ने अधिकार प्रदान गरेको महामन्त्री सन्तोषकुमार पौडेलले जानकारी दिए ।
त्यसैगरी बैठकले स्थानीय निर्वाचन २०७९ को को समिक्षा गर्दै पार्टीको तर्फबाट विजयी उम्मेदवारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको सहमहामन्त्री मनोजकुमार सुर्खेतीले बताए ।
