कैलाश गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी तीब्र

तु खबर संवाददाता
२०७९ श्रावण १६, सोमबार ११:३६

मकवानपुर । भौगोलिक रुपमा विकट मानिएको मकवानपुरको कैलाश गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको पालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिएका छन् । आउँदो मंसिर २५ गते बालमैत्री गाउँपालिका घोषणा गर्नेगरी सूचकहरुमा काम भैरहेको उनले जानकारी दिए । पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धि वडावडामा छलफल भैरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले बताए ।

सो तयारीका क्रममा १० जना वडास्तरीय र १ जना पालिकास्तरीय स्वयंसेवकले सम्बन्धित वडाहरुमा काम गरिरहेको उनले बताए । पालिकाले बालमैत्री घोषणाको तयारी अन्तर्गत गएको साउन १० गते शीर्षक सरलिकरण र आचारसंहिता निर्माण कार्यक्रम सम्पन्न गरेको थियो । यसैगरी असार १३ र १४ गते पालिकास्तरीय बालमैत्री स्थानीय शासन रणनैतिक योजना तर्जुमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको थियो ।

यसअघि मकवानपुरको ३ वटा पालिका बालमैत्री घोषणा भइसकेका छन् । जिल्लाकोे मनहरी गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढीगाउँपालिका बालमैत्री घोषणा भइसकेका हुन् ।