अदालतमा गोली चलाएको आरोपमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २४, मंगलवार १७:०२
file photo

नवलपरासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा सोमबार गोली चलाएको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादव रहेका छन् ।

यादवलाई सुनवल नगरपालिका–९, बनकट्टीस्थित एक जना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमले जनाएको छ । प्रहरीले यादवको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरेको छ ।

सोमबार दिउँसो साढे १ बजे अदालत परिसरमा यादवले आफ्नै काकी रोशनी यादवलाई लक्षित गरेर गोली चलाएका थिए । एक राउण्ड फायर गरेर भागेका उनलाई ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने जनाइएको छ ।