बागमती प्रदेशसभा बैठक सुरु भएलगत्तै एमालेको अवरोध
मकवानपुर । बागमती प्रदेशसभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले नेकपा एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाई राख्न समय उपलब्ध गराए । मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका ३ जना कर्मचारीलाई वर्तमान सरकारले आफु अनुकुल नभएकाले सरुवा गरेको भन्दै विराध जनाए ।
उनले घटनाको सत्यतथ्य छानविन गर्न सर्वपक्षीय छानविन समिति गठनको प्रक्रिया अघि नबढाउन्जेल संसदमा अवरोध कायम राख्ने बताएपछि सभामुख श्रेष्ठले बैठक १० मिनेटको लागि स्थगित गरेका छन् ।
