अझै २ दिन वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७९ जेष्ठ १४, शनिबार १३:२७
file-photo

काठमाडौं । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भू–भागमा अझै २ दिन वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले बिहीबारदेखि देशका विभिन्न भू–भागमा वर्षाको हुन थालेको र यो क्रम सोमबारसम्म जारी रहने जनाएको हो ।

नेपालको स्थानीय बायु, भारतको उत्तर प्रदेश विहार आसपासमा विकास भएको न्यून चापीय रेखा र पश्चिमी वायुको संयुक्त प्रभावका कारण आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भू–भागमा वर्षा भइरहेको मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।

बङ्गालको खाडी तथा भारतको आकाशमा विकास भएको जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेका कारण वर्षा भएको मौसमविद् महर्जनले बताइन् । मनसुन पूर्वको समय भएकोले स्थानीय वायु पनि त्यसमा मिसिँदा भारी वर्षाको अवस्था सिर्जना भएको उनको भनाई छ ।