आज मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
बुधबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
