हेटौंडामा मृगौला पीडितलाई सम्मान तथा जनचेतनामूलक कार्यक्रम
मकवानपुर । मृगौला पीडित सरोकार समाज, नेपालले हेटौंडामा मृगौला पीडितलाई सम्मान तथा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । समाजले मृगौला पीडितलाई हौसला प्रदान गर्न सम्मान तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा डायलाइसिस गरिरहेका मृगौला पीडितका बिरामीहरुलाई मृगौला पीडित सरोकार नेपाल काठमाडौंका अध्यक्ष बलराम सुवेदी, राम माया, राजकुमार रायमाझी, प्रितम श्रेष्ठ लगायतकाले सम्मानपत्र वितरण गर्दै हौसला प्रदान गरेका थिए ।
उनीहरुले मृगौलाका बिरामीले अपनाउनुपर्ने सावधानी, नेपाल सरकारले उपलब्ध गराउने सेवासुबिधा र आवश्यक कागजातका बारेमा जानकारी गराएका थिए । मृगौला पीडितका लागि हाल हेटौंडाको दुई स्थानमा निःशुल्क डायलाइसि सेवा संचालनमा रहेको छ । हेटौंडा अस्पताल र हेटौंडा–११ थानाभर्याङस्थित चुरे.हिल अस्पतालमा निःशुल्क डायलाइसिस सेवा संचालनमा रहेको छ । हाल हेटौंडा अस्पतालमा ८ वटा बेडसहित दुई सिफ्टमा मृगौला पीडितलाई सेवा दिइएको इन्चार्ज पुष्पा रिजालले बताइन् ।
यस्तै, आरोग्य स्वास्थ्य प्रतिष्ठान नेपालले चुरेहिल अस्पतालमा मकवानपुरका २० जना मृगौलाका बिरामीलाई निःशुल्क सेवा दिँदै आएको आरोग्य स्वास्थ्य प्रतिष्ठान चुरेहिल अस्पतालकी रिना सिलवालले जानकारी दिइन् ।
