कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न आज (शनिबार) दिउँसो २ बजे सुरु हुने भनिएको बैठक ढिला गरी सुरु भएको हो । बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुनेछ ।
सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि कांग्रेसले बैठक बोलाएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेलको निर्णय लिने सहमति गरेको थियो । कांग्रेसको विधानले ११ उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोटको अधिकार प्रदेश संसदीय समितिलाई दिएको छ । ६ वटा महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार भने केन्द्रीय संसदीय समितिले चयन गर्नेछ ।
