कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकाहरुमा प्रतिनिधि पठाउन निर्देशन दिने निर्णय गरेको हो ।
पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले सहमहामन्त्रीहरूलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लामा पठाइने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।
त्यस्तै, बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्र्तगत विभिन्न उपसमितिहरू निर्माण गरेको छ । उपसमितिहरूमा भातृ संघ समन्वय एवम् परिचालन, शुभेच्छुक संस्था समन्वय परिचालन, जिल्ला सम्पर्क समन्वय एवम् परिचालन, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवम् परिचालन, अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण, निर्वाचन सुरक्षा निकाय र आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिहरू रहेको उनले बताए ।
