एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उक्त रिटमा चबत २० गते आइतबार सुनुवाइ हुने उनले बताए ।
