आज चार वटा प्रदेशमा वर्षाको सम्भावना
२०७८ चैत्र १६, बुधबार ०८:४०
काठमाडौं । आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद प्रतिभा मानन्धरका अनुसार, वर्षा क्षणिक र हल्का खालको हुने छ । बादल लागेर धुम्म हुने अवस्था भने पछिसम्म पनि कायम रहने र प्रदूषण पनि तत्कालै नहट्ने उनले बताइन् ।
भारतको बिहारमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावको कारण हाल देशकार विभिन्न भूभागमा हल्का वर्षा भएको छ । मौसम सामान्य अवस्थामा आउन केही दिन लाग्ने मौसमविद मानन्धरले बताइन् । अहिले प्रिमनसुन अवधि जारी रहेका कारण हावाहुरी चल्नुका साथै मेघगर्जन र चट्याङ लाग्ने सम्भावना बढी रहेकोले त्यसबाट जोेगिन विशेष सावधानी अपनाउनु मौसमविद मानन्धरले आग्रह गरिन् ।
