मकवानपुरमा ६७ हजार मतदाता थपिए

तु खबर संवाददाता
२०७८ चैत्र १५, मंगलवार ०९:२८
file-photo

मकवानपुर । मकवानपुरमा ६७ हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार, जिल्लामा पछिल्लो ५ वर्षको अवधिमा ६७ हजार १ सय ६० जना मतदाता थपिएका हुन् ।

आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मकवानपुरबाट २ लाख ९४ हजार ९ सय १९ जनाले मतदानमा भाग लिन पाउनेछन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा २ लाख २७ हजार ७ सय ५९ मतदाता रहेको थियो ।

सार्वजनिक गरेको अन्तिम सूचीअनुसारमा १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् । जिल्लाको १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । त्यहाँ १ लाख ४ हजार ४७३ जना मतदाता रहेका छन् ।

त्यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७, बकैयामा २९ हजार ९ सय ४३, बागमतीमा २२ हजार ४०, भीमफेदीमा १७ हजार ४ सय २८, मनहरीमा २६ हजार ७ सय २१, मकवानपुरगढीमा १९ हजार १ सय १८, राक्सिराङमा १५ हजार ८ सय ३२, कैलाशमा १४ हजार ५ सय ८६ र इन्द्रसरोबरमा १२ हजार ४ सय ७१ जना मतदाता रहेका छन् ।

मकवानपुरमा स्थानीय तहको निर्वाचनमा एक मतदान स्थल र ६१ मतदान केन्द्र थपिएको छ । निर्वाचन आयोगका अनुसार जिल्लामा १ सय ६५ वटा मतदान स्थल निर्धारण गरिएको छ । यी स्थलमा ३ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा १६४ वटा मतदान स्थलमा २९५ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

आयोगका अनुसार, जिल्लाको हेटौंडामा २० वटा, थाहामा २१, राक्सिराङमा १९, बकैंयामा १७, बाममती र कैलाश १६–१६, भीमफेदीमा १४, मकवानपुरगढीमा १२, मनहरी र इन्द्रसरोबरमा ११–११ मतदान स्थल निर्धारण गरिएको छ ।