म्यादी प्रहरीमा भर्ना हुन डेढ लाखले दिए आवेदन

तु खबर संवाददाता
२०७८ चैत्र ९, बुधबार १७:०४
file-photo

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी बन्न देशभरका डेढ लाख जनाले आवेदन दिएका छन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिन मै डेढ लाख जनाले आवेदन दिएका हुन् ।

देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मंगलबार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । जस अनुसार, पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मंगलबार ५७ हजार १६१ जनाले आवेदन दिएका छन् ।

बुधबारको विवरण भने आइसकेको छैन । प्रहरीले एक लाख म्यादी प्रहरीका लागि चैत्र ६ गतेदेखि आदेव दिन आह्वान गरेको छ । यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार, ४० दिनमा उनीहरुको तलब ठाउँ अनुसार ३० हजारदेखि ७५ हजार रुपैयाँसम्म हुनसक्छ ।