खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा खड्गी
मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् । बागमती प्रदेश खेलकुद परिषदको बैठकले खड्गीलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पा रंगशालामा एक कार्यक्रमको आयोजना गरी परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले खड्गीलाई अध्यक्षको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य खड्गी यसअघि जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको थिए । समितिको अध्यक्षको पदावधि २ बर्षको हुनेछ । यसअघि समितिको अध्यक्षमा सानु लामा थिए ।
