लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

तु खबर संवाददाता
२०७८ चैत्र १, मंगलवार ०८:५४

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द गरेको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले आजबाट लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गएको छ ।

हालसम्मका निवेदकको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ ।

यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए थियो ।