आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
२०७८ माघ २६, बुधबार ०८:५०
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग लगायत बाँकी पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरूमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखी मध्यम हिमपातको सम्भावना छ ।
