आजको मौसम : आंशिकदेखि सामान्य बदली

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १०:११
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ । सोमबार प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध पनि गरेको छ । यस्तै, मंगलबार प्रदेश नं. १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश नं. १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै बुधबार दिउँसो प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।