विप्लवको मकवानपुरस्थित पार्टी कार्यालयमा हात हालाहाल: दुई पुरुष घाइते, दुई महिला पक्राउ

तु खबर संवाददाता
२०७८ माघ १६, आईतवार १६:१०

मकवानपुर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ राप्तीबगरस्थित कार्यालयमा आइतबार लेनदेनको विषयलाई लिएर विवाद भएको छ । रकम लेनदेनको विषयलाई लिएर दुई महिलाबीच विवाद भइरहेको अवस्थामा दुई पुरुषबीच हात हालाहाल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हात हालाहाल भएपछि दुवै पुरुषको टाउकोमा चोट लागको छ । उनीहरुको अहिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार रकम लेनदेनको विषयमा महिला–महिलाबीच विवाद भएपछि दुवै पक्ष घटनास्थलमा उपस्थित भएको देखिन्छ ।

प्रहरीले अहिले दुवै महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगी यस विषय सोधपुछ गरिरहेको छ । घटनामा घाइते भएका दुवै जना पुरुष र लेनदेनमा संलग्न दुई महिलाकोे परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । ‘दुई महिलाबीच विवाद भइरहेको अवस्थामा दुई पुरुषबीच किन हानाहान भयो भन्ने विषयमा हामी सोधपुछ गरिरहेका छौँ । उनीहरु को हुन्, कहाँको रकमको विषयमा विवाद भएको हो भन्नेबारे खुलिसकेको छैन ।’ प्रहरी नायव उपरिक्षक रिमालले तु खबरसंग भने ।