सहिदको बलिदान र त्यागले नै जनताको शासन स्थापित : प्रधानमन्त्री

तु खबर संवाददाता
२०७८ माघ १६, आईतवार ०९:२२
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदान र त्यागले नै जनताको शासन स्थापित हुन सकेको बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सहिदका बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई जनताको शासन स्थापित हुनसकेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले जारी सन्देशमा भनेका छन्, ‘आज हामी जे–जस्तो स्वतन्त्रता र आत्मसम्मानका साथ बाँच्न पाइरहेका छौं, राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौं त्यो सबै शहीदहरूको योगदानबाट नै सम्भव भएको हो ।’

प्रधानमन्त्री देउवाले सहिद दिवसले सहिदहरुले देखाएको सत्य, न्याय र समानताको बाटोमा हिंड्न तथा उनीहरूले देखेको सुन्दर नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । उनले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासन विरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन शहीदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको जारी सन्देशमा उल्लेख छ ।