आज यी क्षेत्रमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ माघ १४, शुक्रबार ०८:४९
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ । यस्तै, आज दिउँसो प्रदेश नम्वर १ र बागमतीका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी, शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ भने आइतबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।