हेटौंडामा बागमती प्रदेश राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु

तु खबर संवाददाता
२०७८ माघ १२, बुधबार १०:३५

मकवानपुर । बागमती प्रदेश अन्तरगत राष्ट्रियसभा सदस्य पदको निर्वाचनको लागि मतदान प्रक्रिया सुरु भएको छ । आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् । विहान ९ बजेबाट सुरु हुने भनिएको निर्वाचन पानी परेपछि केही बेर ढिला गरी सुरु भएको हो ।

बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जना चुनावी मैदानमा छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा एकीकृत समाजवादीबाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् ।

विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन् । निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरु र प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३७ प्रमुख/उपप्रमुख गरी कुल ३ सय ४६ जनाले मतदान गर्ने छन्।