आज मेघगर्जन, चट्याङ्गसहित वर्षा र हिमपात
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ। आज वर्षा र हिमपातको सम्भावना रहेको र देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ ।
