आइतबार देशभरका अदालत बन्द हुने

तु खबर संवाददाता
२०७८ माघ ८, शनिबार १५:१०

काठमाडौं । आइतबार देशभरका अदालत बन्द हुने भएको छ । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका अदालतहरु बन्द हुने भएको हो । शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरू बन्द गर्ने निर्णय गरेको हो ।

पूर्व प्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो । मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । काठमाडौंको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए ।