हेटौंडामा क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७८ माघ ८, शनिबार ०९:३०

मकवानपुर । हेटौंडामा क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट एसोसिएसन अफ मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) महामारी सकिएलगतै हेटौंडामा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । संघको शुक्रबार हेटौंडा सम्पन्न साधारणसभाले कोभिडको अवस्था हेरेर प्रतियोगिताको मिति तय गर्ने निर्णय गरेको हो ।

साधारणसभा संघ अध्यक्ष बासुलाल श्रेष्ठको सभाध्यक्षता तथा क्यान केन्द्रीय सदस्य करण महत्रा क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको हो ।साधारणसभामा कार्यबाहक सचिव विनोद बानियाँ र कोषाध्यक्ष अनुप सिनोरियाले पेश गरेको क्रमशः प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । कार्यक्रममा संघको पूर्वअध्यक्ष तथा प्रदेश र केन्द्रीय प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।