आज यी प्रदेशहरुमा वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार ०९:०९
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ । बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज देशको पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।