चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो पटकको कोरोना महामारीको समयमा गरिएको चार्टर फ्लाइटमा भएको भनिएको अनियमितताका विषयमा छानबिन गर्न समिति गठन गरेको छ । खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हवाइ उद्धार गर्न चार्टर फ्लाइट गरिएको थियो ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । बिहिबार गठन भएको समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् । उक्त समितिले आज (शुक्रबार) देखि आफ्नो कामको थालनी गर्ने संयोजक लुइटेलले बताए । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।
