पुस २७ देखि विद्यालय बन्द गर्ने सरकारको निर्णय

तु खबर संवाददाता
२०७८ पुष २६, सोमबार १५:१६

काठमाडौं । सरकारले भोलि अर्थात पुस २७ गतेदेखि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले भोलिदेखि नै विद्यालयहरु बन्द गर्ने भएको हो ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका हुन । यसअघि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न मन्त्रालयले निर्देशन दिएको छ । विज्ञप्तिमा भनिएको छ ‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू ।’ साथै मन्त्रालयले विदाको सो अवधिमा १२ देखि १७ वर्ष उमेरका विद्यार्थीहरुलाई नजिकैको खोप केन्द्रमा गई कोभिड विरुद्धको खोप लगाउन समेत अभिभावकहरूलाई आग्रह गरेको ।