आजको मौसम : हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशभरी आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानहरूमा हल्का वर्षा र हिमपात भएको छ । शुक्रबार देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । शुक्रबार राती भने प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ । प्रदेश १ , प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश का एक/दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
