एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु
मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । एमाले मकवानपुरको प्रचार विभाग नविन सिग्देलका अनुसार, आज र भोलि संचालन हुने उक्त अधिवेशनको विहान साढे ११ बजे उद्घाटन कार्यक्रम रहेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रोयल पार्टी प्यालेसमा हुने उक्त अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यसूची रहेको एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आज देशैभर एकैपटक जुममार्फत अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्नेछन् ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरेर १०५ सदस्सीय जिल्ला कमिटी निर्माण गर्नेछन् । उनले सर्वसम्मतको तयारी भईरहेको र सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट अधिवेशन सम्पन्न हुने बताए । एमाले मकवानपुरको अध्यक्षका लागि दुई जनाबीच प्रतिस्प्रधा हुने भएको छ अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठबीच प्रतिस्प्रधा हुने भएको हो ।
एमाले विभाजन भएपछि तत्कालीन अध्यक्ष मुनु सिग्देल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि लम्सालले अध्यक्षको जिम्मेवारी पाएका थिए । लम्साल एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षधर रहे पनि विभाजनको बाटोमा जान नहुने भन्दै एमालेमै रहेर संघर्ष गरिरहेका थिए ।
यस्तै, हालका सचिव श्रेष्ठ भने एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन् । त्यसो त एमालेभित्र आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा तत्कालीन अध्यक्ष सिग्देललाई हटाएर उनी केपी ओली पक्षबाट केही समय अध्यक्ष बनेका थिए । अधिवेशनका लागि जिल्ला कमिटीका सदस्यहरु र प्रतिनिधि गरी ८ सय जनाको सहभागिता रहने छ ।
