कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार लामाको सचिवालय स्थापना
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापति पदका उम्मेदवार बुद्ध लामाको सचिवालय स्थापना गरिएको छ । यही पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका लामाले हेटौंडाको बुद्धचोकस्थित भीमसेन मार्केटमा सचिवालय स्थापना गरेका हुन् ।
जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको लामाले बताए ।
‘आसन्न निर्वाचनमा म सभापति पदको उम्मेदवारी दिने तयारीमा छु । निर्वाचनसम्बन्धी गतिविधि संचालन गर्नको लागि सहज होस् भन्ने उदेश्यका साथ सचिवालयको स्थापना गरेको हुँ । विहान १२ बजेसम्म सचिवालयमा बस्ने र बाँकी समय घरदैलोमा जाने गरिरहेको छ । चुनावी प्रचारप्रसारलाई पनि तीव्र पारेको छु ।’ उनले भने ।
उनले केही दिनभित्रै आफ्नो प्यानल घोषणा गर्ने बताएका छन् । उनले सम्पूर्ण क्षत्रीय प्रतिनिधि मतदातालाई आफ्नो सचिवालयमा आएर आफ्नो चुनावी एजेण्डा बारे जानकारी लिन र आवश्यक सुझाव दिन अनुरोधसमेत गरेका छन् । २०४६ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय रहेका लामाले २०५५ मा जिल्ला सदस्य, २०५६ मा जिल्ला सह–सचिव, २०६३ मा जिल्ला कोषाध्यक्ष हुँदै २०७२ मा जिल्ला सचिव निर्वाचित भएर काम गरिसकेका छन् ।
