राष्ट्रियसभाको निर्वाचन प्रकृया आजदेखि सुरु

तु खबर संवाददाता
२०७८ पुष १७, शनिबार १०:२९

काठमाडौं । राष्ट्रियसभामा सदस्यका लागि आज (शनिबार) देखि निर्वाचन प्रक्रिया सुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार, आजदेखि सरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुनेछ ।

आयोगले निर्वाचन अधिकृत नियुक्त यसअघि नै गरिसकेको छ । मतदान स्थल र केन्द्र पनि तय गरिसकेको छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १ हजार ४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर २ हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । आयोगले मतदानका लागि ८ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यसैगरी निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् । आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ । आगामी फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिने संघीय संसद सचिवालयले जनाइसकेको छ ।