थप २७१ जनामा कोरोना पुष्टि, २२५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप २७१ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८८६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, सो अवधिमा थप २२५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसैगरी, पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ११ हजार ५८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ३७ लाख ४० हजार २९६ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये १ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।
