स्थानीय निर्वाचन एकैदिन र एकै चरणमा
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन देशभर बैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँगको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक बैशाख १४ मा गर्न प्रस्ताव गरे ।
खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँमा प्रभावित नपार्ने भएकाले एकैदिन र एकै चरणमा निर्वाचन गर्नु उपयुक्त हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।
कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए बैशाख १४ र २२ मा गर्न सकिने आयोगले बताएको छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका पदाधिकारीको पदावधि ५ जेठमा समाप्त हुनेछ । संविधानको धारा २२५ मा स्थानीय जनपतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिनाअगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।
कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालन सम्बन्धि कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले बैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ। जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने बताएका छन् । आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने प्रस्ताव पनि गरेको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुको सहमति खोज्नुपर्ने र सबै क्षेत्रहरुमा नभए पनि निश्चित क्षेत्रमा भोटिङ मेसिन प्रयोग गर्दै जाने बताए । निर्वाचन आयोगका अनुसार १७ मंसिरदेखि चलिरहेको मतदाता नामावली संकलनका ५ लाख ७७ हजार ६ सय ६९ मतदाता थपिएका छन् । उक्त कार्यक्रम पुस १९ गते सकिनेछ।
