माओवादीको राष्ट्रिय सम्मेलनमा केपी ओली सहभागी नहुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । ओलीले आफू झापामा भएकाले महाधिवेशनमा सहभागी हुन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् ।
अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर, ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए । एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड सहभागीत भएका थिइनन् । माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । यसअघि दिउँसो १ बजे सुरु गर्ने भनिएको उद्घाटन सत्र केही समय ढिला गरी ३ बजेबाट सुरु गरिने भएको छ । उदघाटन समारोहमा सहभागी माओवादीले कांग्रेस, एमालेसहित ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिएको छ ।
राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि देशभरका सात वटै प्रदेश र तीन वटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् । सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुने भएका हुन् ।
आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् । सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ ।
