कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते बस्ने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यही पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी गराएका हुन् । आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम सार्वजनिक भइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने पौडेलले बताए ।
अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । गत मंसिर २४–२७ गतेसम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म १३ पदाधिकारीसहित ९७ पदको मत परिणाम सार्वजनिक भएको छ । कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एक जना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।
